२० बैशाख २०८२, शनिबार

कांग्रेस सांसद पार्वता डिसीमाथि ठगीको आरोप, संसद सचिवालयमा उजुरी

पार्वता डिसी

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ।

सांसद डिसीमाथि पीडित भनिएका लीलाबहादुर थापा र कृष्णराज पाण्डेले ८ लाख रुपैयाँ ठगेको भन्दै संसद् सचिवालयमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। उनीहरूले सोमबार उजुरी गरेका हुन्।

सांसद चौधरीले ८ लाख ठगी गरेको आरोप निवेदक थापा र पाण्डेले लगाएका छन्।

चुनावताका सहयोग मागेको भन्दै आफूहरूले सो रकम दिएको उनीहरूको दाबी छ। सांसद चौधरी प्रतिनिधिसभाकी सांसद हुन्।

सांसद चौधरीले २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको पीडित थापा र पाण्डेले जनाएका छन्। पीडित भनिएका थापा र पाण्डे दाङका नेपाली कांग्रेसका कार्यकर्ता हुन्।

गढवा गाउँपालिका, दाङका उपसभापतिसमेत रहेका पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ साल असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गरेको तथा कांग्रेस क्रियाशील सदस्यसमेत रहेका लीलाबहादुरले २०७४ साल असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरेका छन्।

यसरी रकम जम्मा गरेको दुई वर्ष बित्न लाग्दासमेत फिर्ता नगरेपछि बाध्य भएर सचिवालयमा उजुरी दिनुपरेको पाण्डे र थापाले सञ्चारकर्मीलाई बताए।