१४ बैशाख २०८१, शुक्रबार

कक्षा १० देखी १२ का विद्यार्थीले काठमाडौंको परिकल्पना बनाएर पुरस्कार जित्न सक्ने “डिजाइन काठमाडौंँ कन्टेष्ट”

design kathmandu contest

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ आयोजना गर्ने भएको छ । नेपाल भरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् ।

प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशा निर्देशकका रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डङ्गोलले बताउनुभयो । डङ्गोलका अनुसार काल्पनिक रुपमा विद्यार्थीले कम्तीमा बीस पानामा शहरको परिकल्पना बनाउन सक्नेछन् ।

प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडाँै उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवत्र्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ । विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडाँैं कन्टेष्ट’ को वेबसाइटमा समावेश गरिएको छ ।

सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नुपूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ । आयोजकका अनुसार यसबाट विद्यार्थीको सिर्जना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइ थप मजबुत हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ ।

बौद्धिक प्रतिस्पर्धीमा विजयीले रु दश हजार, रु पाँच हजार र रु दुई हजार पुरस्कार पाउनेछन् ।