१३ बैशाख २०८१, बिहीबार

बलिउडमा सञ्जय कपूरकी छोरी शनाया डेब्यू गर्दै , ‘नेपोटिजमका देवता’ भनेर करण जौहर ट्रोल

sanya1 scaled

बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ ।

सञ्जय कपुर र महिप कपुरकी छोरीलाई करण जौहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनले लञ्च गर्नेछ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी गरेको छ । संजय कपुरकी छोरी सनाया कपुरलाई धर्माले बलिउडमा डेब्यू गराउने तयारी गरेको हो । यसको जानकारी धर्माका प्रमुख करण जोहरले सामाजिक संजालबाट गरेका छन् ।

यो खबरलाई सोसल मिडियामा शनायाको एउटा रोचक भिडियो सेयर गरेर बताइएको छ । कतिले यो भिडियो निकै तारिफ गरिरहेका छन् । तर यसका साथै एउटा वर्गले पुनः बलिउडमा नेपोटिजमको मुद्दा उठाउँदै करण जोहरलाई ट्रोल गर्न सुरु गरेका छन् ।

वास्तवमा नेपोटिजमको मुद्दामा करण जौहर पहिला पछि ट्रोल हुँदै आएका छन् । करण जौहरमाथि नेपोटिजम र बलिउडमा भाइ–भतिजावाद फैलाएको आरोप सबैभन्दा पहिला नायिका कंगना रनौतले लगाएकी थिइन् । त्यसपछि अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको निधनपछि त झन् मानिसहरु करण जौरहमाथि झन् बर्सिए र एउटा ठूलो वर्ग सुशान्तको मृत्युका लागि करण जौहरलाई जिम्मेवार पनि बताउन थाले । अब शनाया कपुरको बलिउड डेब्यूको खबरपछि एकपटक पुनः करण जोहरमाथि प्रयोगकर्ताले नेपोटिजमलाई बढावा दिएको भन्दै आरोप लगाउँदै उनलाई नेपोटिजमका देवतासम्म भनेका छन् ।

सनाया धर्मा कर्नरस्टोन एजेन्सीमा आवद्ध भैसकेकी छिन् । साथै, उनले जुलाई महिनाबाट छायांकन हुने नयाँ फिल्मबाट बलिउडमा डेब्यू समेत गर्ने छिन् । सनायाले फिल्म ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी थिइन् ।

बलिउडमा शनाया कपुरअघि करण जौहरले बलिउडमा आलिया भट्ट, वरुण धवन, जान्ह्वी कपुर, ईशान खट्टर, अनन्या पाण्डेजस्तै स्टारकिड्स लञ्च गरेका छन् । यस्तै करणले जान्ह्वीकी बहिनी खुसी कपुर र शाहरुख खानकी छोरी सुहाना खानलाई पनि बलिउडमा लञ्च गर्ने हल्ला चलेको छ ।

करणले भिडियो शेयर गर्दै लेखेका छन्- ‘हाम्रो फ्यामिलीमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया कपूर ।’

शनायाले डेब्यु गर्ने फिल्मको प्रोडक्सन जुलाईबाट शुरू हुने करणले जानकारी गराएका छन् । भिडियोमा शनाया विभिन्न पोजमा देखिएकी छन् ।

शनायाले पनि यस भिडियोलाई आफ्नो सोशल मिडिया पेजमा शेयर गरेकी छन् ।