१४ बैशाख २०८१, शुक्रबार

नेपाललाई प्रचण्डको मतियार बनेको आरोप, स्पष्टीकरण सोधिएका ४ जनालाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन

madhav kumar nepal scaled
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट सोमबार चारै नेतालाई पठाइएको छुट्टाछुट्टै पत्रमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिँदै जवाफ नआए विधान बमोजिम कारबाही गर्ने उल्लेख छ ।

पार्टी महासचिव ईश्वर पोखरेलको नाममा पठाइएको स्पष्टीकरण पत्रको पहिलो बुँदा नै विघटित नेकपामा छँदा सचिवालयमा आएको दरारबारे उल्लेख छ । ‘तपाईंले साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरिष्ठ नेता-स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झन्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गररे वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’

गत चैत ७ गते बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार वरिष्ठ नेता नेपाललाई १० बुँदे र अरू नेताहरूलाई चारबुँदे पत्र पठाउँदै महासचिव पोखरेलले भनेका छन्, ‘मिति २०७७ चैत ७ गते सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णयबमोजिम तपाईंले धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ बमोजिम पार्टी विधानको उल्लंघन गरेकाले कारबाही किन नगर्ने ?’

एमाले उपाध्यक्ष भीम रावललाई भने विधानको धारा ४९ (क) को १२ को समेत व्यवस्था उल्लंघन गरेको उल्लेख छ । उनलाई पार्टीका नाममा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाईएको थियो । – कान्तिपुर दैनिक