१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँमा १६ र १८ वर्षिय दुई विद्यार्थी मृत फेला

Dead

काठमाडौँको दक्षिणकाली स्थित चाल्नाखेलमा आज दुई विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँको बाङ्गेमुढामा बस्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भई काठमाडौँ बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मङ्गल तामाङ रहेका छन् । दुवै कक्षा १० का विद्यार्थी हुन् । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेको समेत बताउनुभयो ।

प्रहरीले कुकुर सहित फरेन्सिक ल्याबको टोली लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ । प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताउनुभयो ।