१५ चैत्र २०८०, बिहीबार

हलेसीमा १५ दिनमा ७ लाख भेटीघाटी संकलन

1609173558 yhLdy

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटक एबं दर्शनार्थीले मन्दीर तथा दान पेटीकामा चढाए वापत सात लाख बढि भेटीघाटी जम्मा भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । कोभिड–१९ को संक्रमण दर न्यून हुँदै जान थालेपछि हलेसीमा पुर्ववत अवस्थामा आन्तरिक तथा बाह्य पर्यटक एबं दर्शनार्थीको उपस्थिति हुन थालेको छ । हलेसीमा आएका दर्शनार्थीले सुन, चाँदी र डलर समेत चढाउने गरेका छन् ।

किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको त्रि–धार्मिकस्थल मानिने हलेसी दर्शन बाहेक चट्टानले बनेका अलौलिक प्राकृतिक गुफा तथा आकृति अवलोकनकालागि प्रसिद्ध छ । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हरेक हिउँद बिश्वभरका बौद्धमार्गीहरुले ४/५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।

किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे र हिन्दुधर्म गुरु शंकराचार्यको आगमन भइसकेको भनिएको हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तिज, बैसाखे पूर्णीमा, बोलबम लगायतका चाडपर्वमा दर्शनार्थीको बाक्लो घुईचो लाग्ने गरेको छ ।

हलेसीमा दर्शन एबं भ्रमणका लागि नेपाल बाहेक भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । कतिपय दर्शनार्थी हेलीकोप्टरबाट हलेसी आउने गरेका छन् ।