
बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई भक्तपुर प्रहरीले अझैसम्म भेट्टाउन सकेको छैन। प्रसाईविरुद्ध गएको माघ २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मुद्दाअन्तर्गत पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी गरेकी थिइन्। प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गएको माघ २ गते आफूमाथि अभद्र व्यवहार भएको निवेदन दर्ता गरेका थिए।
उनको निवेदनको आधारमा प्रसाईंलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला प्रशासन कार्यालयमा पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो। तर वारेन्ट जारी भएको १७ दिन पूरा हुँदा पनि भक्तपुर प्रहरीले प्रसाईंलाई पक्राउ गर्न सकेको छैन।
भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रसाईंको खोजतलास भइरहेको जानकारी दिए। उनका अनुसार प्रसाईंले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ। साथै उनले नेपाल छाडिसकेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक प्रधानले बताए। ‘हाम्रो अनुसन्धानले उहाँ नेपालको सीमाबाहिर जानुभएको देखाएको छ’, उनले भने, ‘तैपनि हामी उहाँलाई नियन्त्रणमा लिएरै छाड्छौं।’
प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
प्रसाईंले पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोग उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कलेजको सम्वन्ध प्राप्त गर्नेको लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।
मंसिर १५ गते प्रसाईले द्वारिका होटलमा गिरीलाई भेटेका बेला गिरीले आफूभन्दा माथिल्लो तहका नेताहरुलाई रकम दिनु पर्ने भन्दै उक्त रकम मागेको प्रसाईको आरोप ‘यो रकम मैले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठलाई पनि बुझाउनु पर्छ भन्नुभयो। एक करोडसम्म भएको भए कुरा अर्कै थियो। यत्रो रकम म दिन सक्दिनँ भने’, उनले थपे, ‘मैले रकम दिन नसक्ने भनेपछि कलेजको सम्बन्धन रोकिएको हो। रकम नपाएकै निहुँमा गिरीले बी एण्ड सीको सम्बन्धन रोके।’ प्रसाईंले पत्रकाहरुसँग भनेका थिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध आफ्नो मानहानी भएको भन्दै प्रहरीकहाँ मानहानीको मुद्दा हालेका थिए ।
आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले उक्त अभिव्यक्तिको खण्डन गरेपछि प्रसाईंले गएको माघ २ गते भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाउन लगाएको प्रहरी अनुसन्धानमा खुलेको भक्तपुर प्रहरीले जनाएको छ।
उक्त समूहले आयोगका उपाध्यक्ष गिरीको मानहानी हुने गरी कार्यालय परिसरमा पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो। आफूमाथि अभद्र व्यवहार भएको र अनधिकृत समूहले अमर्यादित ढंगले हुलहुज्जत गरेपछि प्रा.डा. गिरीले भक्तपुर प्रहरीमा अभद्र व्यवहारसम्बन्धी किटानी निवेदन दिएका थिए।
विवादित व्यक्ति प्रसाईंले भागेर आफैँलाई गलत सावित गरेको प्रहरी उच्च अधिकारीहरु बताउँछन्। आफूले सही अभिव्यक्ति दिएको भए प्रहरीको सम्पर्कमा आएर त्यसको पुष्टि गर्नेतर्फ लाग्नुपर्ने उनीहरुको भनाई छ।