७ बैशाख २०८१, शुक्रबार

एचआइभी र फ्लूको औषधिबाट कोरोनाभाइरसको उपचार सफल

microscope

थाइल्यान्ड सरकारले आफ्ना चिकित्सकले एचआइभी र फ्लूको औषाधिबाट कोरोनाभाइरसको उपचार सफल बनाएको दाबी गरेको छ ।

आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबीअनुसार चीनबाट आएकी एक कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको हो ।

राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर उपचार गराएका थिए । उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । गम्भीर अवस्थामा पुगेर उपचारका लागि आएकी ती महिलाको स्वास्थ्यमा निकै सुधार आएको सीएनएनले उल्लेख गरेको छ ।

महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको र पछि दुवै औषधिको संयोजन गरेर उपचार गरिएको थियो ।

उपचारपछि बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार भएको परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखिएको उपचारमा संलग्न चिकित्सकको दाबी छ ।

अमेरिकाको एउटा स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशकले कोरोनाभाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको बताएको केही समयमा नै यस्तो दाबी सार्वजनिक भएको हो । तर एचआइभी संक्रमितलाई दिने औषधिको प्रयोगबाट कोरोनाभाइरसको उपचार सफल भएको प्रति चीनले विश्वास गरिरहेको छैन । एजेन्सी