१४ बैशाख २०८१, शुक्रबार

बढी शुल्क असुल्ने भरतपुरको पुरानो मेडिकल कलेजलाई १८ लाख धरौटी

Purano medical college old cms

कोरोना भाईरस (कोभिड–१९) परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) सँग १८ लाख रुपैयाँ धरौटी लिईएको छ । अस्पताल आएका बिरामीको कोरोना परीक्षण गर्दा बढी शुल्क असुलेपछि मुद्दा चलाएर धरौटी लिइएको हो ।

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल गरेको उक्त अस्पतालसँगै काठमाण्डौँको स्टार अस्पतालसँग पनि पाँच लाख रुपैयाँ धरौटी मागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुभयो । यी दुई अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको स्वाबको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क दुई हजार रुपैयाँ तोकेकोमा ती अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । ती दुई अस्पताल विरुद्ध यही चैत ४ गते मुद्दा पेश भएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेको आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारबाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।