१९ बैशाख २०८१, बुधबार

जिल्ला प्रशासन कार्यालयमा डिजिटल टोकन प्रणाली शुरु

token display

बेंसीशहर नगरपालिका– ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको हो ।

क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आउनु भएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौती विसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिनुभएको थियो ।

तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएर सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताउनुभयो । उहाँले अभिलेख शाखालाई पहिला भन्दा व्यवस्थित बनाइएको जानकारी दिनुभयो । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताउनुभयो ।

नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालय समेत निर्माण गरिएको छ । मध्य नेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो ।

सो प्रतिक्षालयको आज प्रजिअ शर्माले उद्घाटन गर्नुभयो । प्रतिक्षालयमा ८० सेवाग्राही अट्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो । सोही प्रतिक्षालय नजिकै पालिका स्तम्भ पार्कसमेत रहेको छ । कार्यालयमा आएका सेवाग्राहीले पालिका स्तम्भ पार्कको समेत अवलोकन गर्दै जिल्लामा रहेका आठवटै पालिका र जिल्लाकैबारेमा समेत जानकारी लिन सक्नेछन् ।