१२ बैशाख २०८१, बुधबार

लोप हुँदै चैतको महिना गाईने चैतलो

1616032793Chaitalo 2 1

बैतडी सहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतलोमा खास गरेर भाईबैनी बीचको प्रेम सम्बन्ध झल्काउने खालका गीतहरु गाइने गरेको छ ।

पहिला पहिला चैतको महिना सुरु भएसँगै गाँउघरमा हुड्को बाजाको धुनले गाँउघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हँुदै गइरहेको सुर्नया गाउँपालिका ४ का भरतबहादुर महराले बताउनुभयो । हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको सुर्नया गाँउपालिका ५ का जैमल दमाइले बताउनुभयो ।

खासगरी चैतलोलाई दमाई जातिले गाउने भएकाले पनि यसलाई जातसँग जोडेर हेर्दा लोप हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । युवा पुस्तामा चैतलो प्रति कुनै चासो नहुँदा यो लोप हुँदै गएको उहाँको भनाई छ ।

घरघरमा पुगेर चैतलो गाउने र त्यो बाफत अन्न पैसा दिने चलन रहेको समेत उहाँले बताउनुभयो । अहिले चैतलो कहीँ कतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गाथाहरु क्रमशः लोप हुँदै गएका छन् । चैतलो सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको र यसको सकारात्मक पक्षका बारेमा जानकारी नदिँदा यो लोप हुँदै गएको सुर्नया गाँउपालिका ६ कोखेतका हरिदत्त अवस्थीले बताउनुभयो ।

चैतलोमा बैनी भेट्नका लागि भाईले गरेको प्रयासका बिषयमा गीत गाएर सुनाउने गरिएको उहाँले बताउनुभयो । तर पछिल्लो समयमा चैतलो गाउने मान्छे पाउन मुस्कील भएको उहाँले बताउनुभयो ।