१४ बैशाख २०८१, शुक्रबार

शहीद स्मारक ‘सी’ डिभिजन लिग ः चर्च ब्वाइज विजयी

football ground

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५१औँ मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गर्नुभएको थियो । खेलको ५५औँ मिनेटमा प्लानिङ ब्वाइजका कृष्ण गिरीले गोल गर्दै एक÷एक गोलको अवस्थामा पुर्‍याउनुभयो ।

यस्तै खेलको ८९औँ मिनेटमा साइमन लिम्बुले पेनाल्टीमार्फत चर्च ब्वाइजका लागि दोस्रो गोल गर्नुभयो । यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका लागि इन्द्रजङ लिम्बुले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुर्‍याउनुभयो ।

जीतसँगै समूह बी मा रहेको चर्च ब्वाइजले दुई खेलमा ६ अङ्क जोडेर सो समूहको शीर्ष स्थानमा रहेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।