fbpx
८ बैशाख २०७८, बुधबार

माधव नेपाल पक्ष भन्छ, ‘कर्णालीमा माओवादीको सरकारलाई समर्थन कायमै छ’

नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएका प्रकाश ज्वालाले सांसदलाई जानकारी नै नदिइ बसेको एउटा गुटको संसदीय दलको बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ । प्रदेश सभा सदस्य प्रकाश ज्वालाले एमाले प्रदेश सभा दलको नाममा गुटगत बैठक गरेको र बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको र कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिनुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरूप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ ।

कर्णाली प्रदेश सरकारप्रति नेकपा एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ ।’कर्णालीमा एमाले २० जना सांसद रहे पनि बुधवार १० जना सांसदसहित बसेको संसदीय दलको बैठकले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।