१५ बैशाख २०८१, शनिबार

ओछ्यान सहित बेपत्ता दम्पतीबारे २२ औँ दिनसम्म प्रहरीलाई कुनै सुराक छैन

pipara gaupalika mahottari

घरमै सुतिरहेको अवस्थामा ओछ्यान सहित महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ ।

उनको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापक रुपमा खोजतलास गरिरहेको तर आज २२ औँ दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषा समेत विभिन्न स्थानमा व्यापक रुपमा उनीहरूको खोजतलाश गरिसकेको छ । वृद्ध दम्पती नभेटेपछि घटना झन् झन् जटिल बन्दै गइरहेको छ । चौबीस घण्टा प्रहरी विभिन्न समूहले झा दम्पतीको घरको चौकीदारी गरिरहेका छन् । प्रहर नभनी उनको खोजीका लागि प्रहरी भौँतारिरहेका छन् । मोही जग्गा सम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आँकलन गरिरहेका छन् ।

प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करीब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी नलागेको प्रहरीको भनाइ छ । यता अझै पनि जिल्ला प्रहरी र मातहतका प्रहरी एकाइ र प्रदेश प्रहरीबाट बेपत्ता वृद्ध दम्पतीको खोजतलाश व्यापक रुपमा भइरहेको भने घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

यता परिवारजन र गाउँले छिमेकी विगत १८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिँदै आएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुर तथा देशको राजधानी काठमाडौँको माइतीघर मण्डलामा झा दम्पतीको खोजीको माग गर्दै प्रदर्शन समेत गरिसकेको छ । पीडित परिवार र बाह्मण समाजले जनकपुरमा रिले अनशन पनि गरिरहेको अवस्था छ । यसले पनि कुनै परिणाम नल्याए आमरण अनशन र अन्य चर्काे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । घरका अभिभावक दम्पती नै बेपत्ता हुँदा झा दम्पतीको घरमा चुलो बल्न छाडेको छ भने परिवारजन गहिरो चिन्तामा परेका छन् ।