१४ बैशाख २०८१, शुक्रबार

‘अनियमितता, घुसखोरी र विचौलिया धन्दा रोक्छु’ : प्रजिअ प्याकुरेल

cdo dailekh

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा हुने अनियमितता, घुसखोरी र विचौलिया धन्दा रोक्ने बताएका छन् । अघिल्लो साता मात्रै प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लामा हुने गरेको अनियमिततालाई निमिट्यान्न पार्न सक्दो प्रयास गर्ने बताएका हुन् ।

आइतवार पत्रकारहरुसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लामा पछिल्लो समयमा विभिन्न किसिमका अनियमितता मौलाउँदै गएको जनगुनासो बढिरहेको बताउँदै त्यस बारेमा आफुले विशेष निगरानी राख्ने बताए । उनले जिल्ला सदरमुकाममा खानेपानीको विषयमा महङ्गो महशुल तिर्न बाध्य नारायण नगरपालिका बासिहरुलाई महशुल कम गराउन साहारे खानेपानी आयोजना र नारायण नगरपालिकासंग सहकार्य गर्ने बताए ।

जिल्ला सदरमुकाम दैलेख बजारहुँदै मध्यपहाडी राजमार्ग जोडिएको बताउँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा सबै निकायहरुले सकारात्मक योगदान गरिरहेको औल्याउँदै त्यसले आफुले थप कामहरु गर्न सहज हुने बताए । सुर्खेत–दैलेख–कालिकोट सडक खण्डमा अझै पुलहरु निर्माणाधिन भएकाले पुल निर्माणका कामहरु फास्ट–ट्याकको माध्यमबाट सामाधान गर्ने बताए । उनले दैलेखका कतिपय सरकारी कार्यालयमा दक्ष जनशक्तिको अभाव रहेकोले पत्रकारहरुलाई जिल्लामा दक्ष डाक्टर नहुदाँ जिल्लावासी नागरिकहरु महङ्गो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता बारेमा कलम चलाइदिन अनुरोध समेत गरे ।

प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बजार अनुगमनको लागि उद्योग बाण्ज्यि संघसँग सहकार्य गरेर काम अगाडी बढाउने, दैलेखमा बसपार्क भए पनि यातायातका साधनहरु बसपार्कमा नभई यत्रतत्र छरीएर रहने भएकाले यसको व्यवस्थापन गर्न, प्रत्येक स्थानिय तहमा भए गरेका काम कारबाहीको बारेमा एक पटक कार्ययोजना बनाएर अभियानकै रुपमा जाने र स्थानीय तहको वास्तविक वस्तु स्थिती ल्याउने प्रयासमा आफु रहेको बताए । उनले कर्मचारीहरुको विषयमा आम नागरिकको धेरै मौखिक उजुरी र गुनासाहरु आएको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नागरिकहरुलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने बताए । उनले जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका सरकारी सवारी साधन दुरुपयोग रोक्ने बताए ।

सोहि अबसरमा पत्रकारहरुले जिल्लामा भएका र हुने गरेका गतिविधिबारेमा कुरा राख्दै मध्यपहाडी राजमार्ग निर्माण, विद्युतमा भएको अनियमित, कर्मचारीको आचरण, स्थानिय तहका भएका काम कार्बाही, विकास निर्माणका काममा विशेष ध्यान पुर्याउन आग्रह गरेका छन् ।