१३ बैशाख २०८१, बिहीबार

मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षण सम्पन्न

Maelmilap tranning scaled

दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको न्यायिक समितिका पदाधिकारी, सदस्य र मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षण गरिएको छ । नेपाल सरकार कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय संस्थागत पहुँच अभिबृद्धि परियोजनाको सहयोगमा जन अधिकार संरक्षण मञ्चको प्राबिधिक सहयोग र गाउँपालिकाको समन्वयमा गाउँपालिका भित्रका न्यायिक समितिका पदाधिकारी, सदस्य र गाउँपालिकामा रहेको मेलमिलाप कर्तालाई मेल मिलाप सम्बन्धि आधारभुत प्रशिक्षण गरिएको डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोेजक सीता ज्ञावलीले बताइन् ।

गाउँपालिकामा रहेका छ वटै वडाका मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तर निर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकास क्रम, विवाद समाधानका रणनितिहरु, मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हित अडान सम्वन्धी जानकारी, मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलाप पूर्व पश्चातको जानकारी, मेलमिलाप कर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीप औजारको वारेमा फागुन २० देखि २९ गते सम्म ८ दिन प्रशिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र बहादुर मल्लले–न्याय सम्पादन गर्दा कसैले पनि राजनैतिक पुर्वाग्रही राखेर न्याय सम्पादन गर्न नुहने, समुदायमा मेलमिलाप कर्ताको महत्वपुर्ण भुमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पिडकलाई उत्साही हुने खालको न्याय सम्पादन गर्न नहुने धारण ब्यक्त गरे ।

उक्त कार्यक्रम समापन गर्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रको अध्यक्ष सीता ज्ञावलीले– स्थानीय सरकार गठन भएपछि स्थानीय तहका उप–प्रमुखलाई न्यायिक समितिको संयोजक तोकेपनि आवश्यक ऐन नियम, कार्यबिधि नुहँदा न्याय सम्पादन समस्या भइरहेको बेला पालिकामै यस्तो तालिम हुनुले न्याकिक कार्यमा आफुलाई सहयोग पुग्ने भन्दै यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताईन् । उनका अनुसार अन्यायमा परेका सबैलाई न्याय दिन प्रत्येक वडाबाट मेलमिलापकर्ता छनोट गरी तालिम दिइएको छ ।

तालिममा सहभागि न्यायिक समितिका सदस्य रमिता तिरुवाले समुदायमा भएको विवादहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान सिप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताइन् । उनले भनिन–वडामा देखिएका समस्या अव गाउँपालिका नआएर वडामै बिवाद मिलाउन आफुहरु लाग्ने छौँ ।

महिला तथा बालिकालिका शाखाका प्रमुख अन्जु ज्ञावलीले तालिम दिएका मेलमिलापकर्ताहरुको अभिलेख गाउँपालिकामा सुचिकृत गर्ने, मेलमिलाप कर्ताको आधारभुत तालिम संगै मेलमिलाप कर्ताले पालना गर्नु पर्ने १६ बुदे आचार संहिता समेत निर्माण भएको र सपथ ग्रहण समेत गराइएको जानकारी दिइन् । अव उनिहरुलाई वडामा आवश्यकताका अनुसार परिचालन गरिने छ ।

प्रशिक्षक सतिश शर्मा र भानु रिजालले सहजीकरण गरेको मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षणमा ३१ जनाको सहभागिता रहेको थियो ।