६ बैशाख २०८१, बिहीबार

एमाले र जसपाबीच आज निर्णायक वार्ता, दुई दलबीच कार्यदलस्तरमा छलफल

Jasapa and Oli Government
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने बारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि वार्ता हुँदै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन्। आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ। यसअघि बिहीबार भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए।

हिजोको छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए। जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी भएका थिए। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने छलफलमा सहभागी भएनन्।

जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ। जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ।