१२ बैशाख २०८१, बुधबार

म लड्नेवाला छु, ६६ वर्ष भएँ छोड्नेवाला छैन, फेरि क्रान्तिमा जाने सोचमा छु: प्रचण्ड

prachanda
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विघटित नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका छन् ।

मपेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए । ‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ । म छोड्नेवाला छैन । एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने ।

‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ प्रचण्डले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए ।

‘केपी प्रवृत्तिका विरूद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । त्यो ओली प्रवृत्तिमाथि प्रहार गरेको हो । हिंसामा जाने कुरा गरेको होइन, शान्तिमार्फत् युद्ध गरेको हो,’ प्रचण्डले भने । उनले राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्। ‘ठूला षड्यन्त्र भइरहेको छ । राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ । फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकताबद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं,’ उनले भने । उनले कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने पनि बताए ।