१३ बैशाख २०८१, बिहीबार

एपीएफ क्लब मेयर कप क्रिकेटको फाइनलमा

cricket mayor cup bagmati

सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो । मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १७७ रन बनायो ।

एक सय ७८ रनको विजय लक्ष्य एपीएफ क्लबले ४४ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले अविजित ६२ तथा शरद् भेषवाकरले अविजित ६१ रनको योगदान दिनुभयो । यस्तै शंकर रानाले ३१ तथा भुवन कार्कीले ११ रन बनाउनुभयो ।

बलिङतर्फ काठमाडौँ मेयर ११ का अनुज चुनारा, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । यसअघि काठमाडौँ मेयर ११ का लागि ब्याटिङ गर्दै सन्दीप रजालीले ४८, हरिशंकर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाउनुभयो ।

बलिङतर्फ एपीएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन तीन तथा बसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक एक विकेट लिनुभयो । यसैगरी कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा वाग्मती प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गर्‍यो । वाग्मतीले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनायो ।

दुई सय ६७ रनको विजय लक्ष्य पछ्याएको आर्मीको पारी २५६ रनमा समेटियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेल्दै ११९ रन बनाउनुभयो । उहाँले ११४ बल खेल्दै सात छक्का तथा आठ चौका प्रहार गर्नुभयो । यस्तै लोकेश बमले ४६, करन केसीले २४ तथा रोहितकुमार पौडेलले १५ रन बनाउनुभयो ।

बलिङतर्फ वाग्मती प्रदेशका आरियो पौडेलले पाँच, रामनरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक एक विकेट लिनुभयो । यस अघि ब्याटिङ गर्दै वाग्मती प्रदेशका पारस खड्काले शतकीय पारी खेल्नुभएको थियो । खड्काले १३३ बल खेल्दै ११९ रन बनाउनुभयो । उहाँले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गर्नुभयो ।

यस्तै नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ त्था पृथु बास्कोटाले १२ रन बनाउनुभयो । बलिङतर्फ आर्मी क्लबका सोमपाल कामीले पाँच तथा विक्रम सोव, जितेन्द्र मुखिया, शाहव आलम र करन केसीले एक एक विकेट लिनुभयो । शनिबार हुने फाइनल खेलमा एपीएफ क्लब नेपाल पुलिससित भिड्ने छ ।