१३ बैशाख २०८१, बिहीबार

चितवनमा अमेरिकी फौजी कीराको प्रकोप

fauji kira

जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ ।

रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।

कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उहाँका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले फुल पार्ने र त्यो फुल लार्भा हुँदै विकसित भई मकैको पात खाने गर्दछ । ठूलो भएपछि गुभो खाने गरेको क्षेत्रीले बताउनुभयो । सन् २०१९ मा नेपालमा पहिलो पटक देखिएको यो किरा विषादी पचाउन सक्ने भएकाले कृषकले मकै बारीमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह बमोजिम विषादी छर्कनुपर्ने उहाँले बताउनुभयो । बिहान ११ः०० बजेदेखि बेलुका ३ः०० बजेसम्म मात्रै विषादी छर्नुपर्ने विज्ञहरुको सुझाव छ । मकैको पातमा लार्भाले क्षति गरेको प्वाल तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित भई विषादीको प्रयोग गर्न सकेमा प्रकोप नियन्त्रण गर्न उहाँको भनाइ छ ।

केन्द्रका प्रमुख राजन ढकालले अहिले फौजी किराले मकै सानो हुँदादेखि नै आक्रमण गर्न थालेको बताउनुभयो । कृषकले मकै लगाएपछि बारीमा खासै नजाने हुँदा नियन्त्रण गर्न कठिन हुने उहाँको भनाइ छ । यसको नियन्त्रणका लागि कार्यालयले बाली उपचार शिविर सञ्चालन गर्दै आएको ढकालले जानकारी दिनुभयो ।

कृषक आफँै सजग नभएसम्म अमेरिकन फौजी किरा नियन्त्रणमा समस्या आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले आफ्नो बारीमा लगाएको मकैको राम्रोसँग ख्याल गर्न जरुरी छ ।” भरतपुर–६ पारसनगरका कृषक धर्मराज पौडेल अहिले मकैमा सेतो पुतली जस्तो किराले क्षति गरेको बताउनुहुन्छ । मकै उम्रिएदेखि नै पुतलीले पात खाने गरेको उहाँको भनाई छ ।

पौडेलले आफ्नोसँगै अरुको पनि मकैमा समस्या देखिएको जानकारी दिनुभयो । पुतली उड्ने र यसलाई विषादीलेसमेत काम नगर्ने समस्या छ । यसको नियन्त्रणका लागि ट्रयाप (पुतली पर्ने पासो) राखी नियन्त्रणको काम भइरहेको उहाँले बताउनुभयो । यस पासोमा दुई दिनको आधा किलोजति पुतली पर्ने गरेको पौडेलले बताउनुभयो ।