१३ बैशाख २०८१, बिहीबार

हत्या अभियोगमा चितवन प्रहरीद्वारा तीन जना पक्राउ, गेष्टहाउसमा मारेर नगरवनमा शव फालेको खुलासा

hatya abhiyog 1024x533 1

चितवन प्रहरीले फागुन १० गते नारायणगढमा भएको गोपाल गुरुङ हत्या प्रकरणका तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले आज जिल्ला प्रहरी कार्यालय चितवनमा पक्राउ परेका तीन अभियुक्तलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी गँैडाकोट नगरपालिका–२ घर भई नारायणगढ पुलचोकमा रहेको जानकी गेस्ट हाउसमा प्रवन्धकको काम गर्ने ४२ वर्षीय सञ्जय गजुरेल, भरतपुर महानगरपालिका–२७ घर भई भरतपुरमा डेरा गरी बस्ने २५ वर्षको विक्रम महतो र कालिका नगरपालिका–७ जुटपानी घर भई नारायणगढ बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।

उनीहरुले गत फागुन १० गते बिहान लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरूङलाई कुटपिट गरी हत्या गरेका थिए । नारायणगढको जानकी गेष्ट हाउसको कोठा नं.११२ मा हत्या गरी नगरवन स्थित सडक छेउमा लगेर फालेका थिए । पक्राउ परेका गजुरेल, महतो र परियारलाई फागुन २२ गतेबाट लागू हुने गरी चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकले प्रयोग गर्ने मोबाइल एक थान, मृतकको झोला एक थान र मृतकको कपडा र शव व्यवस्थापनमा प्रयोग भएको ना २ ह १२४० नं.को अटो पनि बरामद गरेको जनाएको छ ।