१४ बैशाख २०८१, शुक्रबार

जनता समाजवादी पार्टी मुलुकको नेतृत्व लिन तयार छ : वरिष्ठ नेता राई

Ashok Rai

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सबैै राजनीतिक दलले आफ्नो पार्टीलाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहेमा आफूहरु उक्त पद लिन तयार रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले नेकपा विवाद सम्बन्धी फैसला सुनाएपछि देशमा नयाँ राजनीतिक यात्रा शुरु भएको बताउँनुहुँदै नेता राईले अब मुलुकमा कुनै हालतमा वैकल्पिक सरकार आउने दावी गर्नुभयो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले जसपा नेपाललाई किङ मेकर बनाएको भन्नुहुँदै वरिष्ठ नेता राईले अब बन्ने सरकारका विषयमा आफ्नो पार्टीले सोचेर अगाडि बढ्ने जानकारी दिनुभएको छ । “हाम्रो पार्टी देशलाई निकास दिएर अगाडि बढ्न चाहन्छ”, उहाँले भन्नुभयो, “देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन हाम्रो पार्टी अब गठन हुने सरकारको नेतृत्व लिनसमेत तयार रहेको छ ।”

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम ऋषि कटेल अध्यक्ष रहेको पार्टीलाई सदर गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमले केपी शर्मा ओलीको प्रधानमन्त्री पदको आयु तोकिदिएको उहाँले बताउनुभयो । नेता राईले ओलीको प्रधानमन्त्री पद अबको दुई महिनाभित्र सकिने दाबीसमेत गर्नुभयो ।

पार्टी प्रचार विभाग खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा सबै भन्दा पश्चगामी नेता ओली देखिएको जिकिरसमेत गर्नुभयो । “ओली जी समस्या समाधान गर्ने नेताका रुपमा देखिनुभएन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थिरता र मुलुकको हितका बारेमा सोच्दै सोच्नुभएन । समस्या तेर्साएर राख्ने व्यक्तिले राजीनामा दिएर मुलुकलाई निकास दिनुपर्छ ।”

नेपालको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने यात्राबाट ओली प्रतिगमनको बाटोमा लागेकाले आगामी दिनमा ओलीसँग आफ्नो पार्टीको सहकार्य नहुने पनि उहाँले बताउनुभयो । “हाम्रो पार्टी अग्रगमनको पक्षमा छ”, उहाँले भन्नुभयो, “ओली जी देशमा प्रतिगमन सिर्जना गरेर राजनीति गर्न चाहने व्यक्ति भएकाले उहाँले नेतृत्व गर्नुहुने सरकारमा सहकार्य गर्न सकिन्न ।”

नेपालको राजनीतिक ध्रुविकरणको दिशामा अगाडि बढेको बताउँनुहुँदै नेता राईले अब आफ्ना पार्टीको नीति र विचार अनुसार शर्तहरु अगाडि राख्दै सशर्त सरकारमा सामेल हुन सकिने सम्भावना रहेको समेत औल्याउनुभयो । “राजनीतिक घटनाक्रमले अब जसपा, काँग्रेस र हालै अदालतले फिर्ता पठाएको नेकपा माओवादी केन्द्र एक ठाउँमा हुन सक्छ”, उहाँले भन्नुभयो, “यद्यपि, यस्तै अवस्थामा आफ्नो पार्टी सरकारमा सामेल हुने नहुने निक्र्यौल पार्टीको बैठकले गर्ने छ । सरकारलाई समर्थनमात्र पनि गर्न सकिन्छ या मूलुकले आवश्यकता ठान्यो र हामीलाई उपयुक्त लागेमा सामेल पनि हुन सकिन्छ ।”

सरकारमा सामेल हुनका लागि भने अरु दलहरुले संविधान संशोधन लगायतका विषयमा प्रतिवद्धता जाहेर गर्नु पर्ने उहाँले बताउनुभयो । “लिखित रुपमा शर्तहरु हुनेछन् । ती सम्झौताका आधारमा रहेर काम गर्ने हो भने सरकारमा गएर सहयोग गर्ने छौँ”, उहाँले भन्नुभयो, “संविधानमा सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् जसलाई संशोधनको माध्यमबाट सुधार गर्दै लैजानु पर्दछ ।”

सरकारले देशमा विद्रोहको नीति लिएर अगाडि बढीरहेको विप्लप समूहलाई मुलधारमा ल्याएर उनीहरुले गरेका र गराएका सारा घटनाहरुमा आँखा चिम्लेको आरोप लगाउनुभयो । “सरकारले शान्तिपूर्ण आन्दोलनका नायक रेशम चौधरी जस्ता व्यक्तिलाई जेलमा राखेर सम्पूर्ण आदिवासी जनजाति थारु समुदायलाई त्रसित बनाएको छ”, उहाँले भन्नुभयो, “टिकापुर काण्डमा हुँदै नभएका तथा उक्त घटनामा संलग्नसमेत नरहेको रेशम चौधरीलाई भने थुनेर राखेकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।”

एमसिसिको बारेमा आफ्नो पार्टीभित्र छलफल शुरु नभएको र व्यक्तिगत हिसाबमा सबै नेताहरुले अध्ययन गरिसकेको जानकारी दिनुभयो । छलफलमा किन ढिलाई ? भन्ने प्रश्नको जवाफमा बेला आएपछि निर्णय गरिने उहाँले बताउनुभयो । “समय नआइ छलफल गर्दा पार्टीभित्र थप जटिलताहरु आउन सक्छ” उहाँले भन्नुभयो ।

वि.सं. २०५४ सालमा भएको महाकाली सन्धी भएको समयमा तत्कालीन एमालेमा भएको घटनालाई समेत स्मरण गर्नुभयो । पन्ध्र दिनदेखि गृह जिल्ला खोटाङको विभिन्न स्थानहरुमा जसपा नेपालको कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा रहनुभएका वरिष्ठ नेता राई बुधबार काठमाडौँ फर्कने हुनुभएको छ ।