८ बैशाख २०८१, शनिबार

सरकार संघीय शिक्षा ऐन ल्याउने तयारी छ: शिक्षामन्त्री

krishna gopal shrestha

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उहाँले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताउनुभएको हो ।

चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पार्नुभयो । 

हाल भारतको सहयोगमा करिब ७० विद्यालयको पुनर्निर्माण भइरहेको र २८ आंगिक क्याम्पस बनाउने तयारी गरिरहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा भारत सरकारको साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण हुँदैछ । सम्झौता अनुसार ठेकेदार कम्पनीले १५ महिनामा भवन निर्माण गरिसक्नुपर्नेछ ।