१४ बैशाख २०८१, शुक्रबार

आइपीएस चीनलाई घेरा हाल्ने सैन्य रणनीति नेकपाको दावी

nekapa cnc 3

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकाको इण्डो प्यासिफिक रणनीति (आइपीएस) बारे विगतको भन्दा कडा दृष्टिकोण बनाएको छ । चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिअन्तरगत अमेरिकाले आइपीएसलाई अगाडि बढाइरहेको नेकपाको ठहर छ ।

प्रतिवेदनमा नेकपा र नेकपा नेतृत्वको सरकार कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ । नेकपाले राजनीतिक प्रतिवेदनमार्फत एमसीसी इन्डो–प्यासिफिक रणनीति नभएको दावी गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘यदि सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारको कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन ।’

गत स्थायी कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि इण्डो प्यासिफिक रणनीतिबारे सामान्य चर्चा गरिएको थियो । हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडि बढाइरहेको छ

स्थायी कमिटीको प्रतिवेदनमा यति मात्र भनिएको थियो, ‘आज चीनले अघि सारेको बीआरआई र अमेरिकाले विकसित गरिरहेको इण्डो प्यासिफिक रणनीति आपसमा टक्कराइरहेका छन् । आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको छ ।’

असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रियको स्वतन्त्रता एवम् जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्न चाहेको पनि नेकपाको प्रतिवेदनमा उल्लेख छ ।

विना बाहृय हस्तक्षेप प्रत्येक साना ठूला देशको आफ्नो भाग्यको आफैं फैसला गर्ने आत्मनिर्णयको अधिकारको सम्मान गर्ने नेकपाले बताएको छ ।

नेकपाको प्रतिवेदनमा भारतले सार्वजनिक गरेको लिम्पियाधुराको नक्शाका सन्दर्भमा समेत चर्चा गर्दै ती भुभागहरु नेपालकै भएको दाबी प्रस्तुत गरिएको छ ।

स्थायी कमिटीको बैठकमा ‘अन्तरराष्ट्रिय परिस्थिति’को खण्डमा राखिएको भारतीय नक्शासम्बन्धी प्रकरणलाई यो प्रतिवेदनमा राष्ट्रिय परिस्थितिको खण्डमा समेटिएको छ ।