१६ चैत्र २०८०, शुक्रबार

नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा गर्ने प्रस्ताव

nekapa cnc 3

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ अर्को वर्षको चैतमा हुने भएको छ ।

बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।

अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो । त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ । नेकपाको यो कतिऔं महाधिवेशन हुने भन्ने खुलाइएको छैन ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि भोलिदेखि १५ वटा समूहमा छलफल हुनेछ । 

यसअघि तत्कालिन नेकपा एमालेले नवौं महाधिवेशन गरेको थियो भने तत्कालिन माओवादीले सातौं गरेको थियो । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।

राष्ट्रियसभा गृह, नेकपाको केन्द्रिय कार्यालय धुम्बाराही र कोटेश्वरको पेरिसडाँडामा हुने छलफलबाट आएका सुझाव समेटेर आउँदो १७ र १८ गते केन्द्रीय समितिमा थप छलफल भएपछि १९ गते बैठक सकिनेछ ।