१५ बैशाख २०८१, शनिबार

भक्तपुरमा ४२ खोप केन्द्रबाट ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने

covishield vaccine

दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ । फागुन २३ गतेबाट शुरु हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यहाँका चारवटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर उक्त सङ्ख्यामा ज्येष्ठ नागरिकलाई खोप दिने भएको उहाँको भनाइ छ ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०-१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११-११ गरि कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ ।

फागुन २३ गतेबाट नौ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिनुभयो ।

त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरुलाई पनि दोश्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाइने भएको छ ।

दोश्रो चरणको खोप अभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, एक हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ । खोप अभियान सफल पार्न वडा स्तरीयदेखि जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरीवेक्षण र अनुगमन गरिने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आइसीयु सहितको उपचार व्यवस्था गरिएको बताउनुभयो । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थयमा जटिल समस्या नआएपनि पूर्वतयारी भने गरिरहेको उहाँको भनाइ छ ।

खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भएपनि यस्ता लक्षण एक दुई दिनमै आफै निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ । अभियान अन्तर्गत पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने व्यक्ति, एम्बुलेन्स चालक, सरकारी, स्थानीय तह तथा संस्थानका कर्मचारी, जनपद एवं सशस्त्र प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई खोप लगाइएको थियो ।

पहिलो चरणमा जिल्लामा ५ हजार ७९३ जनालाई खोप लगाइएको थियो भने भक्तपुरमा अहिलेसम्म नौ हजार ६ सयलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।