fbpx
८ बैशाख २०७८, बुधबार

कर्णाली भ्रमणमा रहेका प्रदेश नं २ प्रमुखद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार

कर्णाली भ्रमणमा आउनु भएका प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गर्नुभएको छ ।

प्रदेश प्रमुख झाले आज रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याउनुभएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेत तर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ख०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा५ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ ।

घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पुर्‍याउनु भएको हो । प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ख ०२५६ नंको मिनी ट्रकका चालक रहेको तथा उहाँको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख झाले आफ्नो फेसबुक पेजमा सुर्खेतबाट फर्कँदै गर्दा दुर्घटना भएर छटपटाइ रहेका घाइतेलाई देखेपछि उद्धार गरी अस्पताल पुर्‍याएको उल्लेख गर्नुभएको छ । सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने क्रममा प्रदेश प्रमुख झा कर्णाली आउनुभएको हो ।

प्रदेश राजधानी सुर्खेत स्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान समकक्षी गोविन्दप्रसाद कलौनी र प्रदेश नं २ का प्रदेश प्रमुख झाबीच आज भेटवार्ता भएको हो । कलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिनुभएको छ ।

प्रदेश प्रमुख कलौनीले आफू उपयुक्त समयमा प्रदेश नं २ को भ्रमण गर्ने बताउनुभयो । भेटमा दुवै प्रदेश प्रमुखहरूबीच अनुभव आदान प्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिबारे कुराकानी भएको बताइएको छ ।