२६ बैशाख २०८१, बुधबार

सातदोबाटोको सहज जित, बाँसबारीको आत्मघाती गोल

satdobato vs basbar b division

शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गर्नुभएको हो ।

बाँसबारीले एउटा आत्मघाती गोल गरेको हो । बाँसबारीका लागि भने निशान सुनारले सान्त्वना गोल गर्नुभएको हो । खेलको ११औँ मिनेटमा सातदोबाटोका अशिम राईले पहिलो गोल गर्नुभएको हो ।

पहिलो हाफको इन्जुरी समयमा बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्नुभएको हो । यस्तै खेलको ५२औँ मिनेटमा सातदोबाटोका प्रवेश बस्नेतले तथा ६२औँ मिनेटमा दिनेश राईले गोल गर्नुभएको हो । यस्तै खेलको ७७औँ मिनेटमा बाँसबारीका निशान सुनारले एक मात्र गोल गर्न सफल हुनुभएको थियो ।

जितसँगै सातदोबाटोले नौ खेलबाट २५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । यस्तै बाँसबारी नौ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।