fbpx
७ बैशाख २०७८, मंगलवार

बेला बेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको – वरिष्ठ नेता पौडेल

फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताउनुभएको छ ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा उहाँले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताउनुभयो ।

राष्ट्रिय सङ्कटको यस घडिमा पार्टी भित्रको एकता पनि आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो, “न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ । कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उहाँले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गर्नुभयो ।

आँफै भित्र पनि बेला बेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उहाँले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उहाँले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पार्नुभयो ।