१३ बैशाख २०८१, बिहीबार

नक्कली नोट बनाउने मेसिन बोकी नेपाल छिर्न खोज्दा मारिएका भारतीयको शव आफन्तलाई बुझाइने

Nepal police

कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।

लागुऔषध र नक्कली नोट बनाउने मेसिन सहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“नेपाल–भारत सीमा कटेर करिब ३०० मिटर वर आइसकेका चार भारतीय युवक सित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर गरे”, उहाँले भन्नुभयो, “जवाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।”

घटना लगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्पर्क आएपछि मृतकको पहिचान खुलेको थियो ।प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी सहितको टोलीले आज बिहाज घटनास्थलको स्थलगत अनुगमन गरेको छ ।

“हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौँ”, प्रवक्ता थापाले भन्नुभयो, “शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।” भारतीय पक्ष सित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षण पछि आफन्तको जिम्मा लगाइने जानकारी दिनुभयो ।

मृतकका आफन्त प्रहरीको सम्पर्कमा रहेको बताउँदै उहाँले मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्नमा आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य तीन भारतीय तस्कर भने फरार छन् ।” उक्त दोहोरो भिडन्तमा नेपाल प्रहरीका जवान वीरसिंह साउद सामान्य घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।