१४ बैशाख २०८१, शुक्रबार

पुष्पकमल दाहालले सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्र प्रति पार्टीको गम्भीर ध्यानाकर्षण : सचेतक भट्टराई

bishal bhattarai ncp

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक विशाल भट्टराईले उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन ११ गते सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्र प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीको संसदीय दलको नेतामा प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नै रहनु भएको स्पष्ट गर्नुभएको छ ।

नेकपाको विधान २०७५ अनुसार संसदीय दलको नेता चयन हुनुभएका अध्यक्ष ओली, उपनेता सुवाचन्द्र नेम्बाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरी नै रहनु भएको तथा उहाँहरूबाट पार्टीको प्रतिनिधित्व, आवश्यक निर्णय हुँदै आएको र भविष्यमा पनि सोही अनुरुप हुने स्पष्ट गर्दै मुख्य सचेतक भट्टराईले संसद् सचिवालय लगायत सबैमा द्विविधामा नपर्न ध्यानाकर्षण गराउनु भएको छ ।

मुख्य सचेतक भट्टराईले आज विज्ञप्ति जारी गरी निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णय अनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था भएको स्मरण गराउँदै आयोगको निर्णय विपरीत गरिएका पत्राचारले मान्यता नपाउने वास्तविकता तर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउनुभएको छ ।