१३ बैशाख २०८१, बिहीबार

थप १२० जनामा कोरोना पुष्टि, मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ गराउने

corona virus graph

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानलाई ध्यानमा राख्दै अबदेखि दैनिक यसबारे जानकारी गराउने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारदेखि सुरु गरिने खोप अभियानलाई ध्यानमा राख्दै मन्त्रायलले आज देखि दैनिक प्रेस ब्रिफिङ गर्न थालेको हो ।

यसअघि सातामा दुई पटक आइतबार र बुधबार मात्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै आएको थियो ।