
स्पेनिस महारथी बार्सिलोना कोपा डेल रे प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा शानदार प्रदर्शनसँगै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो ।
गएराति क्याम्प नोउमा भएको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ठ पुनरागमन गर्दै सेभिल्लामाथि ३-० को जित निकाल्यो । पहिलो लेग २-० ले गुमाएको बार्साले दोस्रो लेगमा पुनरागमन गर्दै समग्रमा ३-२ गोल अन्तरको जित निकाल्यो ।
घरेलु मैदानमा उत्कृष्ठ पुनरागमनका लागि ओस्मान डेम्बले, जेरार्ड पिके र मार्थिन ब्रेथावाइटले गोल गरे ।खेलको १२औँ मिनेटमा डेम्बलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको अन्त्यतिर पिके र ब्रेथावाइटले गोल गरे । जितसँगै बार्सा पहिलो फाइनलिष्ट बनेको छ ।
अब लेभान्टे र एथ्लेटिक बिलबाओबीचको खेलको बिजेतासँग बार्साले उपाधिका लागि भिड्नेछ । लेभान्टे र बिलबाओले पहिलो लेगमा १-१ को बराबरी खेलेका छन् ।