१४ बैशाख २०८१, शुक्रबार

हिंसा न्यूनीकरण विद्यालयबाटै

bidya devi bhandari rastrapati
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले सामुदायिक विद्यालयमा भएको लगानी अनुसारको प्रतिफल आउने गरी काम गर्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

राष्ट्रपति भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा उहाँले हिंसा न्यूनीकरण गर्न विद्यालय तहदेखि नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सबैका लागि शिक्षाको अवधारणा कार्यान्वयन गर्दै लगानीअनुरूपको प्रतिफल हासिल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको लगानीको नतिजा निस्कनुप¥यो ।” शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेकोमा गम्भीर बन्दै उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययनरत बालबालिकाको व्यक्तित्व विकास गर्न कसले रोकेको छ ? कानुनले राम्रो काम गर्न रोक्छ जस्तो लाग्दैन”, उहाँले यस क्षेत्रमा भएका नीतिगत व्यवस्था लागू गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्यमा वर्गविभेद हुन नहुने धारणासमेत व्यक्त गर्नुभयो ।

देशको इतिहास, संस्कृति, पहिचान, भाषा विद्यार्थीले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महìवपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ विद्यालय र सामाजिक सङ्गठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षामा नयाँ परिवर्तनको खाँचो रहेको चर्चा गर्दै भन्नुभयो, “हामी नयाँ परिवर्तनको सोचमा छौँ । नयाँ ऐनसहित अगाडि बढ्नुपर्छ”, उहाँले नीतिगत सुधारका लागि उच्च स्तरीय विज्ञसहितको कार्यदल बनाएर अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार गम्भीर भएको र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।