१५ चैत्र २०८०, बिहीबार

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

veteran 1024x768 1

दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौंडाले चुमेको छ ।

आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेटेरान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौंडाले उपाधि हात पारेको हो ।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौंडा ४–२ ले विजयी भयो । कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको २ प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४ औं मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा नै कालभैरव हेटौंडा खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौंडाका लागि बराबरी गोल गरे ।

उपाधिसँगै कालभैरवले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सिमित बुटवलले ७५ हजारमा चित्त बुझाएको छ । कालभैरव हेटौंडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यस्तै चितवन भेटेरान रातोका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरका थिए । उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेटेरानविरुद्ध गरेका थिए।

कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे। चितवन भेटेरान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।

DSC01496