१६ बैशाख २०८१, आईतवार

सरकारको सबै अस्पताललाई निर्देशन- कोरोना भाइरसको उपचारका‍ लागि तयार रहनू

helth ministry office nepal

सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन देभरका सबै अस्पतललाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको बैठकले कोरोना भाइरसको जोखिम बढेको भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

चीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।

अस्पतालको तयारी र अवस्थाबारे तीन दिनभित्र लिखित प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, ‘कोरोना भाइरसको शंकास्पद लक्षण देखिने बिरामी आयो भने तुरुन्तै उपचार गर्न सकिने व्यवस्था मिलाउन आवश्यक भएकाले तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।’

कोरोना भाइरसको बिरामीलाई छुट्टै उपचार गर्ने व्यवस्था मिलाउन आइसोलेसन वार्डको स्थापना गर्न पनि मन्त्रालयले भनेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसको बिरामीको उपचारका लागि ६ बेडको छुट्टै आइसोलेसन वार्ड स्थापना गरिएको छ। प्रवक्ता श्रेष्ठले भने, ‘टेकु अस्पताल तयारी अवस्थामा छ । टेकुमा नभए पाटन, वीर, टिचिङ लगायत अस्पताललाई भनेका छौ ।’

चीनको युहान प्रान्तबाट फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले सर्तकता बढाएको हो।

पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिकामा यसको संक्रमण पुष्टि भइसकेको छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ।