१४ बैशाख २०८१, शुक्रबार

चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द

chapakot nagarpalika

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताउनुभयो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा गएर फर्किएका मध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।

“नगरपालिका अन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ”, नगरप्रमुख गिरीले भन्नुभयो, “सङ्क्रमणलाई थप बढ्न नदिन तथा जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउँदै एक हप्ताका लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा बजार, पसल, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको हो ।”

कोरोना सङ्क्रमण समुदाय स्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले बताउनुभयो ।

यस अवधिमा शैक्षिक संस्थाका पूर्व निर्धारित परीक्षा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा स्वास्थ्यका मापदण्ड पूरा गर्दै सञ्चालन गरिने सूचना अधिकारी कोइरालाले बताउनुभयो ।

    सम्बन्धित समाचार...