१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं विश्वविद्यालयको पठनपाठन करीब एक महिनादेखि ठप्प

kathmandu university

धुलिखेलमा स्थित काठमाडौं विश्वविद्यालय (केयू) मा तालाबन्दी भएको २५ दिन भइसक्दा खुल्न सकेको छैन। पटक पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारी र प्राध्यापकले तालाबन्दी गर्दै आएका छन । गत साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिए पछी भदौ ३० मा आन्दोलनरत पक्ष र केयू प्रशासन बीच सहमति भएर विश्वविद्यालय खुलेको थियो ।

आन्दोलनरत प्राध्यापक संघका अध्यक्ष बेदमणि दाहालले त्यस समयका भएका सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँका अनुसार त्यस समयमा प्राध्यापक संघ र कर्मचरी संघसँग लाई विश्वविद्यालयले पारित गर्ने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानबिन गर्ने र वृत्ति विकासलगायतका विषयमा सहमति भएको थियो  । पुस १६ गतेबाट शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

यसअघिका आन्दोलनमा प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका उनीहरूले डीन कार्यालय, अन्य स्कुल, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा समेत तालाबन्दी गरी विज्ञप्ति टाँसेका छन । केयूका रजिस्ट्रार सुबोध शर्माले केही दिन मै सहमति हुने बताउनुभयो । उहाँले माघ १३ गते बस्ने विशेष सभाले यसबारे निर्णय लिने जानकारी दिनुभयो । माघ ५ मा भएको कार्यकारी परिषद्को बैठकले माघ १३ गते बस्ने विशेष सभामा सहमति कार्यान्वयन गर्ने आशयको प्रस्ताव तयार गरेको छ ।