१९ बैशाख २०८१, बुधबार

कोरोनाभाइरस सङ्क्रमण: चीनको वुहानमा हृदयाघातले मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

coronavirus

चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षिय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।

करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताए।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार शनिवार राति केही नेपाली साथीहरूसँगै रहेका उनको सुतेकै अवस्थामा निधन भएको थियो।

टेलिफोनमा कुराकानी गर्दै लम्सालले भने, “हामीले शव नेपाल फर्काउने पहल गरिरहेका छौँ। वुहानमा आवागमन नियन्त्रित भएकाले समस्या भएको हो।”

वुहानको अवस्था

outbreak coronavirus china wuhan

श्वाप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ।

६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ।

लम्सालले खड्काको शव नेपाल पठाउन वुहानको अवस्था सामान्य हुनुपर्ने देखिएको बताए।

नेपालीमा सङ्क्रमण देखिएको छैन

बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको सूचना आएको छैन। तर दूतावासले चीनमा रहेका सबै नेपालीलाई उक्त भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।

दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ।

नेपाली दूतावासका उपप्रमुख लम्सालका अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन्। ~ बिबिसि