१६ चैत्र २०८०, शुक्रबार

चितवनको विजयसभामा सम्बोधन नगरी काठमाडौं उडे प्रचण्ड र माधव

prachanda1 1
फाइल फोटो

नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनमा सम्बोधन नै नगरी काठमाडौं उडेका छन् । उनीहरु आज (बुधबार) विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला गरेपछि दाहाल र नेपाल चितवनको कार्यक्रम छोडेर काठमाडौं उडेका हुन् । समसामयिक विषयमा कुरा गर्नुपर्ने भएकाले दुवै अध्यक्ष काठमाडौं उडेका हुन् । सो समूहले आज अपरान्ह संसदीय दलको बैठक समेत आह्वान गरेको छ भने त्यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहको नेकपा चितवनले आजका लागि विरोध सभा आयोजना गरेको थियो । सोही सभाका लागि दुइ अध्यक्ष नै मंगलबार अपरान्ह चितवन आइपुगेका थिए । तर साँझपख नै सर्वोच्चले संसद विघटन बदर गरिदिएपछि उनीहरुले विजय सभाको रुपमा परिणत गरेका थिए । तर विजयसभामा सम्बोधन नगरी नै दुई अध्यक्ष काठमाडौं उडेका हुन् । आजको विजय सभामा पूर्व मन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।