१५ चैत्र २०८०, बिहीबार

“सर्वोच्च अदालतले ईतिहासका खास घडिहरुमा साहसिक निर्णय गर्दै आएको छ” : सभामुख सापकोटा

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसलालाई “साहसिक” सङ्ज्ञा दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सरकारको निर्णयलाई मङ्गलवार बदर गरिदिएको हो।

बिबिसी संगको कुराकानीमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना गर्ने अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले भने “नेपाली जनताको जीत भएको छ, न्यायको जीत भएको छ ।” उनले थपे “सर्वोच्च अदालतले ईतिहासका खास खास घडिहरुमा साहसिक र देश र जनताको हितमा निर्णय गर्दै आएको छ ।”

उनले प्रतिनिधि सभाको कार्यसूचीबारे भने फैसलाको पूर्ण पाठ अध्ययन गरेर मात्रै अघि बढ्ने बताए । “अदालतको निर्णय मात्रै आएको छ । फैसलाको पूर्ण पाठ अध्ययन गरेपछि मात्रै अघि बढ्छु,” उनले भने ।

‘सर्वोच्च अदालतले निकासको बाटो खोलेको छ । नेकपा विवादको विषयमा जटिलता आउँदैन । सर्वोच्चको निर्णयले स्पष्ट ढंगले दिशानिर्देश गरेको छ’ उनले भने । नेकपाको विवादको विषयमा सर्वोच्चले स्पष्ट पारिसकेकोले संसदमा समस्या नहुने पनि बताए ।