१३ बैशाख २०८१, बिहीबार

प्रचण्डले माधव नेपालको ढाँडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो : ईश्वर पोखरेल

ishwor

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डले माधव नेपालको ढाँडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रममा पोखरेलले सो कुरा बताएका हुन् । ३३ वर्ष पार्टीको अध्यक्ष भएका प्रचण्डको ढाँडमा टेकेर टाउकोमा हान्ने अभ्यासले गर्दा अहिले पार्टी यस्तो अवस्थामा पुगेको उनले बताए । पूर्वएमालेभित्रको अन्तरविरोधमा खेल्दै माधव नेपालको ढाँडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने योजना बनाउँनाले पार्टी विभाजन हुने अवस्थासम्म आएको उपप्रधानमन्त्री पोखरेलले आराप लगाए ।

प्रचण्डले सुरु देखिनै विभिन्न बखेडा झिकेर साना पार्टीसँग मिलेर पाँच वर्ष सरकार चलाउने योजना रहेको भन्दै उनले हिजो देखिको दूषित कुराको परिणाम आज हामीले भोगेको विचार राखे । उपप्रधानमन्त्री पोखरेलले भने, ‘.सरकार बनेर प्रधानमन्त्रीले काम गर्न खोज्नुहुन्छ । उहाँहरु यो भएन त्यो भएन भनेर कराइरहनुहुन्छ । झण्डै दुई तिहाइको सरकार छ तर आफ्नै पार्टीभित्रबाट काम गर्न दिँदैनन् ।’ माधव नेपाल र प्रचण्डको हिसाबकिताब नमिल्दा उपप्रधानमन्त्री पाखरेलले संवैधानिक आयोगमा कयौं समय हुनुपर्ने नियुक्तिहरु हुन नसकेको बताए । उनले भने, ‘प्रतिशतको हिसाब गर्ने हो भने पार्टी कसरी चल्छ ? प्रतिशतको कुराले सरकार कसरी चल्छ, हिसाब मिलाउनु पर्ने ।’

केपी ओलीले पार्टी विभाजन हुनबाट जोगाउन अन्त्यसम्म कसरत गरेको भन्दै ओलीले दुई वर्ष पूरा गरेका मन्त्रीहरुलाई बिदाइ गर्ने गरी सरकार पुर्नगठनको प्रस्ताव ल्याएको तर आफ्नो मानिस हट्ने भएपछि प्रचण्डले नमानेको कार्यक्रममा बताए । उपप्रधानमन्त्री पोखरेलले भने, ‘७५ दिनसम्म केपी ओलीले प्रचण्डलाई मनाउनै खर्च गर्नुभयो । ’ उनले प्रचण्डको कनकनको कारणले नै देशमा अहिलेको अवस्था आएको विचार राखे । उनले भने, ‘ केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रस्ताव पेस गर्नुभयो । केपी ओली सरकारले गरेका सात वटा काम पेस गरे, पारित गरे । तर, एक महिना नबिति फेरि कनकन सुरु भयो । एउटै बैठक ८० दिन भन्दा धेरै बस्यो । प्रधानमन्त्रीबाट पनि हट्नुपर्छ, पार्टी अध्यक्षबाट पनि हट्नुपर्छ भन्ने माग आयो । बैठक निकै तनावपूर्ण भयो ।’

उपप्रधानमन्त्री पोखरेलले ओलीले पाँच वर्ष नै सरकार चलाउने गरी प्रचण्डले पार्टीको काम र अर्काे अध्यक्ष ओलीले सरकारको काममा केन्द्रित हुने भनिए पनि पार्टीको काम केही नभएको बताए । उनले भने, ‘२०७७ साल कात्तिक २८ गते प्रचण्डले ओलीको विरुद्ध अभियोग पत्र पो दर्ता गर्नुभयो । अभियोग पत्रमा केपी ओली पार्टी सदस्यमा पनि लायक छैन भन्ने आरोप लगाइएको छ । कम्युनिस्ट पार्टी भित्र यस्तो अवस्था हुन्छ ?’ उनले एउटा प्रधानमन्त्री जसले देशको हितमा काम गरेको छ उसको आधा शताब्दी लामो राजनीतिक जीवन अभियोग पत्र मार्फत् ध्वस्त पार्न खोजेपछि संसद विघटनको विकल्प नै नभएको बताए । उनले भने, ‘जनता न्यायाधीश हुन् । पार्टी एकतामा दुई अध्यक्षको सहमतिको एजेण्डा बन्ने र बैठकमा प्रस्ताव लग्ने भन्ने थियो तर त्यसको कार्यान्वयन भएन ।’ उनले प्रधानमन्त्रीले म सार्वभौम जनताको बीचमा जान चाहन्छु भन्नु प्रतिगमन नभएको बताए । उनले भने, ‘खास झलनाथ राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष बन्न खोज्ने भित्रि खेल थियो । एकैचोटी बहुमतको सरकार प्रमुख बन्नु होला । विकास र समृद्धिको पक्षमा लाग्नुहोला भन्दा पनि प्रचण्डले मान्नुभएन ।’ उनले प्रचण्डको पार्टी संगठन सकिँदै गएको अवस्थामा तत्कालिन एमालेसँग एकता गर्न बाध्य भएको बताए । उनले भने, ‘ प्रचण्ड हिजोका मानवताविरोधी अपराधहरुले जस्किँदै हुनुहुन्थ्यो । माधव र झलनाथको समस्या भने पार्टी र सत्ता उपभोग गरे । हिजो प्रतिपक्षमा रहेका ओलीको व्यक्तित्व कहाँबाट कहाँ पुग्यो भन्ने इष्र्या र कुण्ठाको परिणाम हो ।’ उनले केपी ओलीलाई बा को भूमिका खेलेर नै बा भनिएको बताए । उनले नाकाबन्दीको समयमा ओलीले खेलेको भूमिकाले ओलीको लोकप्रियता बढेको तर माधव नेपालले त्यसलाई सहन नसकेको विचार राखे । उपप्रधानमन्त्री पोखरेलले भने, ‘ चुच्चे नक्सा देशका सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याएर संविधान संशोधन गरेर प्रकाशित गरेको हो तर माधव र प्रचण्ड एक शब्द बोल्दैनन् ।’

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भने, ‘ प्रचण्ड ३२ वर्षसम्म पार्टीको प्रमुख बनेर बसे । कहिल्यै चुनाव गर्नु परेन । कहिल्यै प्रतिस्पर्धा गर्नु परेन । माधव नेपाल पनि कहिल्यै प्रतिस्पर्धा गरेर नेता बनेनन् । त्यो कुण्ठाले यस्तो भएको हो ।’ उनले पार्टी एकता हुँदा तीन महिनामा पार्टी एकता टुङ्ग्याउने भन्ने भए पनि प्रचण्डले कुनै मतलब नगरेकोले एकताको कुनै काम नभएको विचार राखे ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिन्ह नपाउने दाबी गरे । उनले भने, ‘पुराना अन्तरविरोधलाई बिर्सिनोस् । कमिटी गठन गर्दै निर्वाचनको तयारीमा लाग्नुहोस् । केपी ओलीले राष्ट्रघात गरेको भए प्रचण्ड र नेपाल पक्ष निर्वाचनमा जान आँट गर्नुहोस् ।’ उनले अहिले देखिएको पार्टीको चुनौती नै हाम्रो लागि अवसर भएको बताए । उनले भने, ‘अब नयाँ ढंगले पार्टी निर्माण हुनेछ । आर्थिक विकास र समृद्धिको कुरा नगर्ने हो भने कुनै पनि कम्युनिस्ट पार्टी सफल हुन सक्दैन । अहिलेको चुनौती पार गरेर नयाँ सम्भावना तर्फ जान सकिन्छ । अब हाम्रो राजनीतिक कार्यदिशा आर्थिक विकास र समृद्धि नै हो । यसमा केन्द्रित भएर हामी छलफल गर्छौ ।’ उनले राजनीतिक कुरा बुझेका मानिसले मात्र पार्टी नचल्ने भन्दै विषय विज्ञहरुको संयोजनबाट मात्रै पार्टी सफल हुन सक्ने विचार राखे । उनले भने, ‘ तीन धार पाको पुस्ता, युवा र तन्नेरी पुस्ता मिलेर पार्टी बनाउनुपर्छ । ’