१६ चैत्र २०८०, शुक्रबार

चनौली शीत भण्डारः उपकरण जडान हुँदै

sita bhandar1613993738

चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन ।

कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो । यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम हुनसकेन । अहिले भवन निर्माणको काम सकेर यान्त्रिक उपकरण जडानको काम भइरहेको छ ।

बाढिपहिरो, भूकम्प, नाकाबन्दी, ठेकदार कम्पनीको ढिलासुस्तीलगायतका कारणले निर्माणमा ढिलाइ भएको चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो । पछिल्लो समय कोरोनाका कारण एक वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो ।

आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको पौडेलले जानकारी दिनुभयो । भवन निर्माणसम्बन्धी काम एक वर्षअघि नै सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“शीत भण्डारमा हाल मेसिनरी सामान जडानको काम भइरहेको छ ।” २०७७ चैतमा मेसिनरी जडानको काम सक्ने गरी २०७६ असार २३ मा ठेक्का सम्झौता गरिएको थियो । मेसिनरीको काम ठेकेदारले समयमा सक्ने सङ्केत देखिएको पौडेलले बताउनुभयो ।

तर, ट्रान्सफर्मरका कारण सञ्चालनमा ढिला हुनसक्ने उहाँको भनाइ छ । ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर अनुदानमा उपलब्ध गराउन माग गरिएको जनाउँदै पौडेलले चैतसम्ममा ट्रान्सफर्मर आएमा आगामी असोजमा सञ्चालन गर्न सकिने बताउनुभयो ।

“चैतसम्ममा मेसिनरीको काम सकियो र ट्रान्सफर्मर पनि आयो भने वैशाखमा सबै सेटिङ मिलाएर जेठमा हामीले परीक्षण गर्छाै”, उहाँले भन्नुभयो,“परीक्षण सफल भएमा असारबाटै सञ्चालनमा ल्याइन्छ । नभए असोजमा पक्का सञ्चालन गर्छाैं ।” कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममासमेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण यो उपयोगी रहेको पौडेलले बताउनुभयो ।

यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी अफ सिजनमा बिक्री गर्ने छ । परियोजनाले अतिरिक्त आम्दानीको लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्री वितरण गर्ने छ । करीब रु १५ करोडको लगानीमा निर्माण भइरहेको सो भण्डारको क्षमता करीब दुई हजार ५०० मेट्रिक टन रहने छ । लिफ्टसहित शीत भण्डार पाँच तले हुनेछ । सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिन्छ । शीत भण्डार रहने भवन अघिको प्रशासनिक काम हुने भवनको अण्डर ग्राउण्डमा मासुजन्य पदार्थ भण्डार गर्ने सोच भए पनि त्यसबारे ठोस् निर्णय भइनसकेको पौडेलले जानकारी दिनुभयो ।

उक्त स्थानको क्षमता करीब तीन सय टन छ । चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । सार्वजनिक निजी सझेदारी अन्तर्गत निर्माण गर्ने गरी सरकार र सहकारी तथा किसानले संयुक्त लगानी गरेका हुन् ।

शेयर, पूँजी समयमा जुटाउन नसक्नु नै निर्माण कार्यमा ढिलाइ हुनुको प्रमुख कारण भएको अध्यक्ष पौडेलले बताउनुभयो । “समयमा पूँजी जुटाएर सिभिलको काम सकि मेसिनरीको काम थाल्न पाएको भए छिटो हुन्थ्यो । तर, न सरकारी तवरबाट छिटो बजेट आयो न सहकारीबाट छिटो पूँजी सङ्कलन गर्न सकियो ।”

मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना शुरु गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत छ । सार्वजनिक निजी सझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीत भण्डारको सिभिल सम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ ।

मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत हुनेछ । सहकारीले ऋण लिएर लगानी गरेको हुँदा उक्त ऋणको ब्याजले गर्दा लगानी अझै बढ्नसक्ने सङ्केत देखिएको पौडेल बताउनुहुन्छ । शीत भण्डारमा चितवनका ४४ सहकारीको लगानी छ ।