१६ चैत्र २०८०, शुक्रबार

मेलम्ची खानेपानीको सुरुङ परीक्षण शुरु

melamchi water tunnel test

मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गर्नुभएको हो । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।

गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन ।

मन्त्री थापाले पानी काठमाडाँै लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताउनुभयो । पूर्वमन्त्री तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभीको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

“विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ”, आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताउनुभयो । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौँका विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।

कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।