१३ श्रावण २०७८, बुधबार

राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ, ओलीबाट उपयोग नभएको जिकिर

manichandra thapa
फाइल फोटो

नेकपा(एमाले)का नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिस्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताउनुभएको छ ।

नेता थापाले आफूहरू प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गर्नुभयो । उहाँले आफूहरू बृहत्तर कम्युनिस्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पार्नुभयो । ओली र प्रचण्डले शुरु गरेको कम्युनिस्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रूपमा गल्ती नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन ग¥यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिस्ट आन्दोलन हामी बनाउन चाहन्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो । त्यो प्रक्रियालाई पुरा गर्न चाहन्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठिक ठाउँमा छौँ । यहाँ हामी सङ्घर्ष गरेर फेरी नयाँ कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यति धेरै चिन्तित छैनौँ ।’

नेता थापाले नेकपा(एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताउनुभयो । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उहाँले बताउनुभयो । एमाले एकताले आफूहरूलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिस्ट आन्दोलन अगाडी बढ्ने र डिबेटमा भाग लिन आफूहरू तयार रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिँदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरू कम्युनिस्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन । ठुलो डिबेटबाट फेरी कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

नेता थापाले आफूहरू पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रस्ट पार्नुभयो । पुरानो पार्टी तोडेर नयाँ कम्युनिस्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभई नयाँ ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्व एमालेको एकतामा पूर्व माओवादीको समूह मिसिँदा कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हुने भएकाले यसैको ध्रुवीकरणमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पुरानो ठाउँमा फर्क नसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिस्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ । त्यो ध्रुवीकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दा खेरी ठुलो जनाधार भएको कम्युनिस्ट पार्टीको केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिस्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

उहाँले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सुझाव दिएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिक रूपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भए पनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरूको असन्तुष्टि नरहेको उहाँले उल्लेख गर्नुभयो । तर प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिता बिना फरक ढङ्गले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रूपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ । प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजनमा छैनौँ । बालुवाटार कन्फ्युजन छन्, उनीहरूले कन्फ्युजनको राजनीति गर्न खोजिराछन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरूले पूर्व समूहको रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृत्ति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताउनुभयो । उहाँले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेन्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताउनुभयो ।

    सम्बन्धित समाचार...