१२ बैशाख २०८१, बुधबार

बहुआयामिक स्वास्थ्यसेवा दिलाउने गरी काम गर्छौं: मन्त्री केसी

bimala kc

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालबाट बहुआयामिक सेवा दिलाउने गरी काम गर्ने बताउनुभएको छ ।

अस्पतालमा आयोजित छलफल कार्यक्रममा मन्त्री केसीले बहुआयामिक सेवाप्रवाह गर्न र कर्णालीका जनतालाई नेपालगञ्ज, काठमाडौं जानुपर्ने गरी सेवा दिन स्तरवृद्धि गरिने बताउनुभयो । प्रदेश अस्पतालमा भएका बाधा हटाएर हिड्ने कुरालाई सहजिकरण गर्दै उपकरणको तीर्ने पैसा मात्र नभएर थप्ने कुरामा पनि ध्यान दिइएको उहाँको भनाइ थियो । “प्रदेश अस्पतालको स्तरोन्नति गरौँ । सबैले सुर्खेत अस्पतालबाट सेवा लिन पाउने गरी यसको विकासमा लागौँ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार तपाईको साथमा छ । निर्धक्कका साथ काम गर्न आग्रह गर्दछु ।”

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सरकारले दरबन्दी सृजना गर्ने, सेवा विस्तार र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रोत्साहनको व्यवस्थापन गर्न सुझाउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिगत भन्दा अहिले सेवा राम्रो भएको यद्यपि अब मोबाइल एप्सबाट सेवाग्रहीले स्वास्थ्य सेवा पाउने गरी अस्पतालले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । अस्पतालका निर्देशक डा डम्बर खड्काले अस्पताललाई राजनीतिक थलो बनाउन खोज्दा अपेक्षित सफलता हाँसिल नभएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेर सिटीस्क्यान ल्याइएको जनाउँदै उहाँले भन्नुभयो, “अत्याधुनिक सामग्री थन्क्याउन ल्याइएको होइन, तीनसय शैययामा प्रयोग गर्ने र कर्णालीका जनतालाई सेवा दिन हो ।”

निर्देशक डा खड्काले अस्पतालमा ३२५ जनाको दरबन्दी भएपनि काम गर्ने जनशक्ति ८७ जना रहेको र विकास समितिका कारण अझ बढी बाधा भएको बताउनुभयो । एक÷दुई जनाका कारण चालु आवको साउन १ गतेबाट आर्थिक कारोबार रोकिएको समेत निर्देशक डा खड्काले गुनासो गर्नुभयो ।