१६ चैत्र २०८०, शुक्रबार

दाहाल–नेपाल समूहले पार्टी कमिटिलाई केही दिनभित्रै पूर्णता दिने

paris dada committee

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय गरेको छ ।

बैठकमा त्यसका लागि प्रदेश कमिटी र जिल्ला कमिटी समेतले पाएको जिम्मेवारी र अधिकारका बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध पार्टीले जारी राखेको आन्दोलनको समीक्षासमेत गरेको उहाँले जानकारी दिनुभयो ।

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाइँसमेत जारी रहेको अवस्थामा घोषणा गरिएको चौथो चरणको कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न बैठकले निर्देशित गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यस्तै बैठकले संवैधानिक निकायले कानून सम्मत् तरिकाले विषयको निर्णय गर्ने र त्यो देश, जनताको हितमा समेत हुने विश्वास व्यक्त गरेको छ । बैठकमा आज अध्यक्षद्वय नेपाल र दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

    सम्बन्धित समाचार...