१५ चैत्र २०८०, बिहीबार

तोरी उत्पादनमा वृद्धि

toribari

चितवन, जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।

गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उहाँले बताउनुभयो ।

जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य छ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उहाँले बताउनुभयो ।

विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।

नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ । दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो ।