४ बैशाख २०८१, मंगलवार

राजवंशी(विराट)लाई जातिजातिमा सूचीकृत गरिने : मन्त्री ढकाल

Bhanubhakta Dhakal
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताउनुभएको छ ।

राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा यहाँ आयोजित १४ औं वृहत् भेलामा उहाँले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने विश्वास दिलाउनुभयो ।

मन्त्री ढकालले राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथाने समुदाय भएकाले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताउनुभयो । उहाँले विगत १४ वर्षदेखि सूचीकृत हुन आन्दोलित यस समुदायलाई त्यसअघि सरकारले नगरेकामा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरी अधिकार प्रदान गर्ने विश्वास दिलाउनु भयो ।

मन्त्री ढकालले राजवंशीलाई आदिवादी जनजातिमा सूचीकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउँदै यस सम्बन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्बन्धमा चनाखो हुन आग्रह गर्नुभयो । उहाँले वर्तमान अवस्थामा हिमालले मात्र पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यकता औँल्याउनु भयो ।

समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा, पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचीकृतका लागि सम्बोधन नगरेकामा गुनासो व्यक्त गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी, गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य, राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी(विराट) उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

मोरङ, झापा र सुनसरीमा अधिकांश राजवंशी(विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाखभन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले जानकारी दिनुभयो । राजवंशी समुदायमा पुरुषले धोती, गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ ।