१६ चैत्र २०८०, शुक्रबार

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

WHO 1

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो र पछि सहयोग रकम रोक्नुभएको थियो ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँले अमेरिकाले सो रकम यसै महिनाको अन्त्य सम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी बुधबार दिनुभएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

बुधबार उहाँले भन्नुभएको थियो– अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।

विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो भन्नुभएको थियो । हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उहाँले बताउनुभयो ।

गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गर्नुभएको थियो ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो ।

पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गर्नुभएको थियो । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उहाँले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याउनुभएको थियो ।